Remember Me
बुटवल – कर्मयोगी समाजसेवी स्व. गणेशमान सैंजुको ९३औं जन्मजयन्ती तथा स्व. कृष्णप्यारी सैंजुको ९२औं जन्मोत्सवको अवसरमा गणेशमान–कृष्णप्यारी सैंजु स्मृति प्रतिष्ठान ट्रस्टद्वारा विशेष सामाजिक तथा शैक्षिक कार्यक्रमहरू आयोजना गरिएको छ l
उक्त अवसरमा, जनसेवा माध्यमिक विद्यालय, सुनवल–६, नवलपरासीका एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्तिको रुपमा एक वर्षको पूर्ण शैक्षिक खर्च रु २०,२५०/- नगद प्रदान गरिएको छ अभावमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यो सहयोगले उनीहरूको शिक्षामा टेवा पुर्याउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ l
विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रधानाध्यापकले ट्रस्टप्रति आभार व्यक्त गर्दै भने, “समाजका अग्रगामी व्यक्तित्वहरूबाट प्राप्त यस्ता प्रेरणादायी सहयोगले विद्यालयको सामाजिक उत्तरदायित्व अझ मजबुत बनाउँछ यसले जेहेन्दार तर आर्थिक रूपमा पछि परेका विद्यार्थीहरूलाई उज्यालो भविष्यको बाटो देखाउनेछ” l
यसै सन्दर्भमा, बुटवलमा ट्रस्टको आयोजनामा एक भव्य सम्मान तथा स्मृति कार्यक्रमसमेत सम्पन्न गरिएको छ, जसमा स्व. गणेशमान सैंजुको ९३औं जन्मजयन्ती तथा कृष्णप्यारी सैंजुको ९२औं जन्मोत्सव मनाइयो कार्यक्रममा सामाजिक सेवा, शिक्षाको प्रवर्द्धन र मानवीय योगदानमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो l
कार्यक्रममा ट्रस्टका प्रतिनिधिहरू, समाजसेवी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ट्रस्टका पदाधिकारीहरूले आगामी दिनमा सामाजिक सेवा, शिक्षा तथा मानव कल्याणका क्षेत्रमा थप सक्रियता बढाउने प्रतिवद्धता व्यक्त गरे स्व. गणेशमान सैंजु शिक्षाप्रेमी, कर्मठ समाजसेवी तथा समुदायप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित रहँदै आउनुभएको थियो उहाँको स्मृतिमा स्थापित ट्रस्टले हरेक वर्ष विभिन्न सामाजिक र शैक्षिक कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ l